ट्रम्प हारे पनि ट्रम्पवाद बाँचिरहनेछ

  |   प्रकाशित :

- एडवार्ड लुस

धेरैजसो अमेरिकीहरु यतिबेला राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अन्त्यको खुसीमा उत्सव मनाउने तयारीमा छन्। भलै, यस्तो भन्ने हिम्मत धेरैसँग छैन।

अमेरिकीहरु ठान्छन्– ट्रम्पको पराजयपछि अमेरिकाको आधुनिक इतिहासकै सबैभन्दा खराब प्रशासनको अन्त्य हुनेछ। त्यति मात्र होइन, ‘मेक अमेरिका ग्रेट अगेन’ लेखिएको टोपी लगाउनेहरु देखिने छैनन्, बन्दुकधारी मिलिसियाहरु गायब हुनेछन्। अमेरिकीहरु सोच्छन्– त्यो उन्मुक्तिको क्षण हुनेछ। जुन क्षणमा ट्रम्प मात्र होइन, ट्रम्पवादलाई समेत एउटा विकृति मानेर खारेज गरिनेछ। चार वर्षसम्मको नारकीय भोगाइपछि अमेरिका ट्रम्प राष्ट्रपति बन्नुअघि जहाँ थियो, त्यही विन्दुमा फर्किनेछ। मानिसहरुले यस्तो अपेक्षा गर्नु स्वभाविक हो। तर, यो भयंकर भूल हुनेछ। किनभने ट्रम्पलाई अझै पनि ठूलो समर्थन प्राप्त छ। अर्को महिना हुने चुनावमा हारेपनि उनले करिब ४५ प्रतिशत मत पाउने छन्। अर्थात्, झण्डै ७ करोड अमेरिकीको मत। त्यसैले अहिले डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ट्रम्पसँगको अन्तर बढाउँदै लगेपनि अझै ट्रम्पको विजयको सम्भावनालाई पुरै नकार्न सकिन्न। ट्रम्प हारे भनेपनि सन् १९८४ मा रोनाल्ड रिगनसँग वाल्टर मोन्डेल वा १९६४ मा लिन्डन जोनसनसँग ब्यारी गोल्डवाटर हारेझैँ फराकिलो अन्तरले हार्ने छैनन्। किनभने यतिबेला अमेरिका नराम्ररी विभाजित भएको छ। बाइडेनले चुनाव जिते भने उनले खासगरी तीन वटा विषयलाई ध्यान दिनुपर्ने आवश्यकता छ।

पहिलो, ट्रम्प दृश्यबाट हराएपनि रिपब्लिकन पार्टी उनकै रहनेछ। पाँच वर्षअघि धेरै धार्मिक मतदाता ट्रम्पको लम्पट व्यक्तित्वलाई मन पराउँदैनथे। तर, आफूहरुले खोजेजस्तो लडाकु नेता ट्रम्प नै हुन् भन्ने महसुस उनीहरुले तुरुन्तै गरे। सर्वोच्च अदालतमा निल गोरसच, ब्रेट कभाना र एमी कोनी ब्यारेटको नियुक्तिले यो कुरा पुष्टि गरिसकेको छ। अमेरिकाका क्रिस्चियन दक्षिणपन्थीहरु नतिजा आफ्नो पक्षमा आए प्रक्रियालाई वास्ता गर्दैनन्। रिपब्लिकन पार्टीका सदस्यका हकमा पनि यही कुरा लागू हुन्छ। उनीहरुले हार नजिकिँदै जाँदा आफूलाई ट्रम्पबाट अलग्याउँदै लैजानुपर्ने हो। तर, अहिले त्यसको उल्टो भइरहेको छ। एक अध्ययनअनुसार गएको चार वर्षमा रिपब्लिकन पार्टीका सदस्यहरु झन् बढी ट्रम्प समर्थक बन्दै गएका छन्।

यसका केही कारण छन्। एउटा आंशिक कारण के हो भने सो पार्टीका नरम प्रतिनिधिहरुले ट्रम्प सत्तामा आएको दुई वर्षभित्रमा या त अवकाश लिएका छन्, या आन्तरिक चुनावमा हार बेहोरेका छन्। तर, यसको प्रमुख कारण भने ट्रम्पवादको शक्ति नै हो। अहिले रिपब्लिकन पार्टीमा आर्थिक अनुदारवादप्रति खासै लगाव देखिन्न। अमेरिकाको भविष्य छैन, अमेरिकाले परिचय गुमाउँदैछ भन्नेहरुमा बढी उर्जा देखिन्छ। केही हदसम्म अमेरिकाको बढ्दो जातीय विविधताका कारण उनीहरुको भय चुलिएको हो।

बाइडेनले ध्यान दिनुपर्ने दोस्रो पक्ष हो– अमेरिकाको सूचना संस्कृति। सन् २०१६ को तुलनामा अमेरिकाको सूचना संस्कृतिको स्तर धेरै गुणाले खस्किसकेको छ। डेमोक्रेटिक पार्टीका सदस्यहरु ट्रम्पले चुनाव जित्नुको दोष रुसलाई दिन्छन्। केही हदसम्म यो सही पनि हुनसक्छ। तर, रुसले जेजति गलत सूचना फैल्यायो, त्यसलाई अमेरिकामै उत्पादित अफवाहले पछि पारिसकेको छ। जर्मन मार्सल फन्डले यसैसाता सार्वजनिक गरेको अध्ययनअनुसार अमेरिकी नागरिकले सामाजिक सञ्जालमार्फत उपभोग गर्ने फेक न्युजको परिमाण सन् २०१६ यता तीन गुणाले बढिसकेको छ। आज फेसबुक गलत सूचना फैल्याउने निकै ठूलो संयन्त्र बनिसकेको छ। अझ महत्वपूर्ण कुरा के हो भने झुठा वा विकृत समाचारप्रति अमेरिकी उपभोक्ताको माग निरन्तर बढिरहेको छ।

उदाहरणका लागि महामारीसम्बन्धी समाचारलाई नै लिन सकिन्छ। केही वर्षअघिसम्म क्यूएननजस्ता षड्यन्त्रको सिद्धान्त फैल्याउने सम्प्रदायको परिकल्पना पनि गर्न मुस्किल थियो। अहिले करोडौँ अमेरिकीहरुसम्म यस्ता अफवाह पुगिसकेका छन्। (क्यूएनन एक दक्षिणपन्थी षड्यन्त्रको सिद्धान्त हो। उनीहरुको विश्वासअनुसार शैतानलाई पूजा गर्ने बाल यौन दूराचारीहरुको एउटा गिरोह विश्वभर बालबालिका बेचबिखन गरिरहेको छ। तिनीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचिरहेका छन्। ट्रम्प भने तिनलाई रोक्न संघर्षरत छन्।) जन–संस्कृतिमा डिजिटल प्रविधिको बढ्दो प्रभावका कारण शासन सञ्चालन झनझन् कठिन बन्दै गएको छ।

राष्ट्रपति बनिसकेपछि बाइडेनले अमेरिकामा कोरोना भाइरसको संक्रमण दर घटाउन राष्ट्रिय रणनीति तयार गर्ने कामलाई पहिलो प्राथमिकता दिनुपर्छ। त्यसअघि अरु काम गर्न कठिन हुनेछ। र, त्यो रणनीति अमेरिकीहरु नियम पालना गर्छन् कि गर्दैनन् भन्नेमा भर पर्छ। उदाहरणका लागि मास्क लगाउने, भीडभाड नगर्ने र कन्ट्याक्ट ट्रेसिङलाई सहयोग गर्ने। तर, ट्रम्पले हुर्काएको सांस्कृतिक विभाजन उनको पराजयसँगै हराउने छैन। धेरै अमेरिकीहरु खोप लगाउँदैनौँ भन्छन्। उनीहरु मास्क लगाउनु भनेको स्वतन्त्रता समर्पण गर्नु हो भन्ने ठान्छन्। यस्तो सोच र भावनालाई कुन हदसम्म हटाउन सक्छन्, बाइडेनको भाग्य केही हदसम्म त्यसैमा निर्भर हुनेछ।

बाइडेनले ध्यान दिनुपर्ने तेस्रो पक्ष हो– ट्रम्पवाद। जस्तो वातावरणमा ट्रम्पवादले मौलाउने मौका पायो, त्यो वातावरण अझै कायम छ। दुई पार्टीबीच चर्को विभाजन, श्रमिकहरुमा व्याप्त निराशा, चीनको खतरा र मध्यमवर्गीय असुरक्षा चार वर्षअघि जस्तो थियो, अहिले पनि त्यस्तै छ। ट्रम्पको बाटो हिँड्न चाहनेहरु पनि प्रशस्त छन्। विदेशमन्त्री माइक पम्पेओ, आर्कान्सका सिनेटर टम कटन ट्रम्पकै कट्टरपन्थी संस्करण हुन्, भलै उनीहरु ट्रम्पजस्तो सनकी छैनन्। तसर्थ अमेरिकाको समस्याहरुको समाधान निकै जटिल छ। यसका लागि कडा मेहनत आवश्यक पर्छ। खोप आउनेबित्तिकै महामारी समाप्त हुँदैन। त्यसैगरी, ट्रम्प हार्नेबित्तिकै जादुजसरी ट्रम्पवाद अन्त्य हुँदैन।

(फाइनान्सियल टाइम्सबाट)

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech