Logo

आइतवार, माघ ११ गते २०७७

पर्यटनको अर्को गन्तव्य महाभारत क्षेत्रको ‘बेथानचोक नारायणस्थान डाँडा’

पर्यटनको अर्को गन्तव्य महाभारत क्षेत्रको ‘बेथानचोक नारायणस्थान डाँडा’

नेपालपाना मंसिर ७ २०७७
  • 219
    SHARES
  • पर्यटनको अर्को गन्तव्य महाभारत क्षेत्रको ‘बेथानचोक नारायणस्थान डाँडा’

    काभ्रे । महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । 

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ ।

    भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा अचेल आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । हिमालका मनमोहक दृश्यसँगै तराईको समथर भूभागदेखि जिल्लाका विभिन्न पालिकाको भौगोलिक अवस्थालाई नियाल्नसमेत उपयुक्त रहेको सो ठाउँमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबजारबाट हिँडेर तीन घण्टामा सजिलै पुग्न सकिन्छ । 

    यहाँबाट नजिकको आभास हुने गरी सूर्योदयको दृश्यावलोकन गर्नसमेत सकिने भएकाले हिजोआज सो ठाउँमा आन्तरिक पर्यटकको घुइँचो बढेको हो । हिउँदको समय, खुला आकाश, शान्त र मनोरम वातावरण, त्यससँगै नजिकैको जङ्गलबाट आउने चरचुरुङ्गीको सुमधुर आवाज सङ्गीतझैँ कानमा गुञ्जने गर्दा अर्को आनन्दको अनुभूति गर्न सकिन्छ । 

    त्यसमाथि वरिपरि हरियाली जङ्गलदेखि माथिको ठूलाठूला चट्टानले बनेको अग्लो खुला ठाउँ, जहाँ बस्न, रमाइलो गर्न र वनभोज खानसमेत पर्याप्त ठाउँ भएकाले पनि पर्यटकको रोजाइमा बेथानचोक नारायणस्थान डाँडा पहिलो गन्तव्य बनेको छ ।

    त्यहाँ पुग्ने पर्यटकको साझा अनुभूति छ, “जीवनमा प्राकृतिक, धार्मिक र स्वस्थ हुनु छ भने बेथानचोक नारायणस्थान डाँडा रोज्नु उत्तम हुन्छ ।” जानका लागि खासै गाह्रो नभएको, धार्मिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको नारायणस्थान डाँडा हरेक दृष्टिकोणले धेरै राम्रो लागेको काठमाडौँबाट घुम्न पुगेका टोलीको भनाइ छ । 

    “धर्ममा आस्था राख्नेले नारायणको दर्शन गर्न पाउनु, प्रकृतिप्रेमी प्राकृितक सुन्दर दृश्यसँग एकाग्र हुन पाइने र मनोरञ्जन लिनका लागि उपयुक्त वातावरण भएकाले निकै सुन्दर छ”, टोलीका सदस्यहरूले भने । त्यहाँ पुग्नेहरुले भने फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।

    त्यहाँ पहिलोपटक घुम्न पुग्नुभएका ललितपुर पाटनका रिजन महर्जनले सूर्योदयको दृश्यावलोकन निकै राम्रो लागेको बताए । वरिपरिबाट गुञ्जने चराचुरुङ्गीको सुमधुर आवाजसँगै नारायण मन्दिरको दर्शन गर्न पाउनु बेथानचोक नारायणस्थान डाँडाको अर्को विशेषता हो । 

    यो स्थान समुद्री सतहबाट तीन हजार १८ मिटरको उचाइमा रहेको छ । पर्यटक बिहानीको सूर्योदय हेर्नका लागि बेलुका नै सो ठाउँमा गएर टेन्ट हालेर बस्ने र बिहान उठ्नासाथ सूर्योदयको दृश्यावलोकनपश्चात वरिपरिको दृश्य नियाल्दै मनोरम वातावरणमा आनन्द लिने गर्दछन् । सूर्यदेवको दर्शनसँगै त्यहीँ रहेको ऐतिहासिक नारायणको मन्दिरमा दर्शन गरी फर्कने गरेको त्यहाँ पुगेका पर्यटक बताउँछन् ।

    मंसिर ७, २०७७ आइतवार ११:२३:५२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana