बेइजिङ । चीनको सिन्जियाङमा रहेका उइगरहरुमाथि चरम दमन भएको भन्दै विश्वभरबाट चर्को आलोचना र चीनमाथि मानवअधिकार उल्लंघनको कार्यलाई रोक्न दबाब सिर्जना भएको छ ।
चीनले सिन्जियाङमा रहेका उइगरहरुलाई वर्षौंदेखि गैरकानुनी हिरासतमा राख्ने र अनुचित श्रम तथा यौन शोषण गर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । विश्वभरबाट सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाउने, त्यहाँका कच्चा पदार्थ प्रयोग नगर्नेलगायत दबाब दिइरहेका छन् ।
यही क्रममा स्वीडेनको ब्रान्डेड कपडा उद्योग 'एच एन्ड एम' ले आफ्नो उद्योगका लागि सिन्जियाङबाट कच्चा पदार्थ आयात नगर्ने निर्णय गरेको हो । जबरजस्ती श्रम शोषण गरेर तयार भएको कच्चा पदार्थ आफ्नो कम्पनीले आयात नगर्ने स्वीडेनको कपडा उद्योगले घोषणा गरेको हो ।
यससँगै एच एन्ड एमले सिन्जियाङको कुनै पनि कपडा उद्योगसँग कुनै पनि किसिमको सहकार्य नगर्नेसमेत स्पष्ट पारेको छ । त्यसैगरी यस उद्योगले चीनका अन्य क्षेत्रबाट आयात हुने कच्चा पदार्थमा निर्यात गर्ने कम्पनीहरुले पनि श्रम शोषण गरे-नगरेको यकिन गरेरमात्रै सामान आयता गर्ने जनाएको हो ।
सिन्जियाङमा उद्योगहरुबाट विभिन्न मुलुकले सामग्री आयातमा प्रतिबन्ध लगाएपछि चीनले सिन्जियाङका उइगरहरुलाई मुलुकका विभिन्न क्षेत्रमा रहेका उद्योगहरुमा काम गराउनका लागि लगेरसमेत जाने गरेका छन् ।
यसअघि संयुक्त राज्य अमेरिकाले पनि श्रम शोषण गर्ने कुनै पनि कम्पनी र उद्योगबाट उत्पादित सामग्रीहरु आयात नगर्ने घोषणा गरेको थियो । अमेरिकाले मानवअधिकारको चरम उल्लंघन गरेर गैरकानुनी हिरासतमा राख्ने र उनीहरुको श्रम शोषण गरेर उत्पादित सामग्रीहरु प्रयोग नगर्ने अभियान नै सुरु गरेको थियो ।
अमेरिकाको सिको गर्दै अस्ट्रेलिया, बेलायत, स्वीडेन लगायतका मुलुकका कम्पनीहरुले सिन्जियाङ र उइगरहरु श्रमिक भएका कुनै पनि कम्पनी र उद्योगहरुका सामग्री आयात नगर्ने घोषणा गरेका हुन् ।
तर, चीनले भने उनीहरुको श्रम शोषण नगरेर र प्रशिक्षण केन्द्रमा राखेको जवाफ दिने गरेको छ ।