Logo

आइतवार, माघ ११ गते २०७७

बहुप्रतीक्षित निजगढ विमानस्थल विवादरहित हुनसकेन

बहुप्रतीक्षित निजगढ विमानस्थल विवादरहित हुनसकेन

नेपालपाना मंसिर १८ २०७७
  • 209
    SHARES
  • बहुप्रतीक्षित निजगढ विमानस्थल विवादरहित हुनसकेन

    काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु त भयो तर विवादरहित भने हुनसकेन । 

    झण्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततः सरकार यो आयोजना अघि बढाउने निष्कर्षमा पुग्यो । मुलुकको गौरव र समृद्धिसँग जोडिएको निजगढ विमानस्थल निर्माणले गति लिने सङ्केतसँगै अवरोधका आवाज भने बढिरहे । विशेषगरी वातावरणसँग जोडिएका विषयहरु नागरिकका तर्फबाट बढी तरङ्गित भएका हुन् ।

    विमानस्थल निर्माणका लागि रुख कटानको विषयमा शुरुमै विवाद उत्पन्न भयो । आयोजनाले प्रारम्भिक काम शुरु गर्नुअघि नै रुख कटानको विषयलाई लिएर बहस चुलियो । केही वातावरणविद्ले उक्त बहसलाई जोडबलले उठाइदिए । विमानस्थल निर्माण कसैको इच्छा र चाहनाका लागि नभई देशको आवश्यकता र राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो भन्ने पक्षबाट शुरुमै कुराको उठान हुन सकेन, बरु बढी मात्रामा विवाद उत्पन्न गर्ने काम मात्र भयो । वातावरणीय क्षति कमभन्दा कम गरेर भए पनि विमानस्थल बन्नुको विकल्प छैन भन्ने विषय अहिले आएर भने महसुस भएको छ । यसरी अहिले आएर निजगढ विमानस्थल अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय बनेको छ ।

    कस्ता छन् अन्तर्राष्ट्रिय अभ्यास ?

    संसारका विमानस्थल कतिपय वन फडानी, पहाड फोरेर, बस्ती मासेर र समुद्र पुरेरसमेत बनाइएका उदाहरण छन् । पछिल्लो उदाहरणकै रुपमा हेर्ने हो भने टर्कीमा बन्न लागेको ‘इस्तनबुल न्यू एयरपोर्ट’ मा पनि शुरुमा हाम्रोजस्तै विवाद उब्जिएको थियो । विश्वकै ठूलो दाबी गरिएको यो विमानस्थल बनाउन २५ लाख रुख काट्नुपर्ने थियो । शुरुमा वातावरणसँग सम्बन्धित प्रश्न उठाइए पनि पछि भने रुख कटान गरेर निर्माण काम थालिएको छ ।

    छिमेकी मुलुक भारतको मुम्बइमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘नाभी इन्टरनेशनल एयरपोर्ट’ बन्दैछ । उक्त विमानस्थल निर्माणको काम थाल्ने भनेपछि सन् १९९७ देखि नै विवाद शुरु भएको थियो । लामो समयको विवादपछि तीन वर्षअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलको शिलान्यास गर्नुभएको थियो । सो विमानस्थल निर्माणका लागि एउटा डाँडो पूरै सम्याउनुपर्ने र नदी फर्काएर सिमसार क्षेत्र छोप्नुपर्ने छ । त्यस्तै माल्दिभ्सले समुद्र पुरेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ । हङकङले अहिले विमानस्थल विस्तारका लागि समुद्र पुरेर खर्बौँ डलर खर्चेर नयाँ धावनमार्ग बनाउँदैछ । थाइल्याण्डको बैङ्ककमा पनि सिमसार मिचेर विमानस्थल बनाइएको हो । जापानको ओसाका विमानस्थल निर्माण गर्दा कान्साइको एउटा पूरै पहाड काटेर समुद्र पुरेर पहाडमा बस्ती बनाइएको छ ।

    नेपालको सन्दर्भमा निजगढ विमानस्थलले केही जङ्गललाई असर गर्ने हो तर हल्ला गरेजस्तो पहाडै खस्ने, प्रलय हुने होइन । विमानस्थलका लागि आवश्यक पर्ने मात्र रुख कटानी हो । करिब २४ लाख रुख काट्ने र वातावरण ध्वस्त हुने भन्ने तर्क असान्दर्भिक हो । पूर्वाधारविद् डा सूर्यराज आचार्यको भनाइमा संसारका कुनै पनि विमानस्थलले या प्राकृतिक प्रभाव या त शहरको सामाजिक असर पारेकै हुन्छ । रासस

    मंसिर १८, २०७७ बिहिवार १६:०९:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # देश

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana