शनिवार, श्रावण १६ गते २०८३
रूपन्देही । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको गरिमालाई थप चम्काउन र यस पवित्र भूमिलाई पर्यावरणीय रूपमा अझ सुन्दर बनाउन 'लुम्बिनीको माटो, समृद्धिको बाटो' अभियानको औपचारिक घोषणा गरिएको छ ।
२५७०औँ बुद्ध जयन्तीको पावन अवसर पारेर लुम्बिनी विश्व शान्ति मञ्चले विश्वभरिका बौद्धमार्गी र प्रकृतिप्रेमीका लागि लुम्बिनी क्षेत्रलाई एक उत्कृष्ट हरित गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यो विशेष अभियान सुरु गरेको हो ।
बुद्धको २५७०औँ जयन्तीको स्मरणमा भैरहवा–लुम्बिनी कोरिडोरमा २ हजार ५७० वटा फलफूलका बिरुवा रोपेर यो क्षेत्रलाई थप हराभरा र आकर्षक बनाइने भएको छ । अभियानको सुरुवात सिद्धार्थनगर नगरपालिका–५ स्थित ऐतिहासिक श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ, जहाँ पहिलो चरणमा १०८ वटा फलफूलका बिरुवा रोपिएका छन्। बाँकी बिरुवाहरू आगामी दुई महिनाभित्र लुम्बिनी क्षेत्रका विभिन्न स्थानमा रोपिसकिने छ ।
शुक्रबार मात्रै लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालय, खुनगाईमा १०० वटा बिरुवा रोपी अभियानलाई तीव्रता दिइएको छ । 'शान्तिका दूत बुद्ध जन्मेको पवित्र माटोलाई हराभरा बनाउन फलफूलका बिरुवा रोप्ने यो अभियानले लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्नेछ ।
हामी मुलुकभर १० लाख बिरुवा रोप्ने महाअभियानमा छौँ, जसमध्ये हालसम्म १ लाख ९५ हजार ७०० बिरुवा रोपिसकिएको' लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमले बताएका छन् ।
यस अभियानले लुम्बिनीको धार्मिक पर्यटनलाई वातावरण संरक्षणसँग जोडेको छ। कार्यक्रममा स्थानीय सरकार, टोल विकास संस्था र विभिन्न संघसंस्थाहरूले लुम्बिनीलाई विश्वकै उत्कृष्ट पर्यटकीय र आध्यात्मिक केन्द्र बनाउन आफ्नो ऐक्यबद्धता जनाएका छन् ।
भैरहवा नमूना माविको प्राङ्गणमा वृक्षरोपणसँगै रक्तदान जस्तो पुनित कार्य समेत सम्पन्न गरियो, जसले बुद्धको करुणा र सेवाको सन्देशलाई चरितार्थ गरेको छ । साथै, अष्ट्रेलियामा बस्दै आएका विराटनगर निवासी रमेश खड्का (कोषाध्यक्ष, रिसाइकल टू रिभाइभ) ले आफ्ना पिता स्व. चन्द्रबहादुर खड्काको स्मृतिमा विद्यालयमा रु. ५१ हजार १११ को अक्षयकोष स्थापना गरी शिक्षा र सामाजिक विकासमा योगदान पुर्याउनुभएको छ ।
यससॅगै, वातावरणमैत्री पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साइकल यात्रा गरी लुम्बिनी पुगेको 'टु द लुम्बिनी' टोलीलाई सोही अवसरमा भव्य स्वागत गरियो ।
साइकल यात्रा र वातावरणमैत्री अभियानहरूले लुम्बिनीलाई दिगो र हरित पर्यटकीय हब (Green Tourism Hub) का रूपमा चिनाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।
सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमितकुमार गुप्ताले लुम्बिनीको माटोको सुगन्ध र बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैलाउन यस्ता अभियानहरू कोशेढुङ्गा सावित हुने बताएका छन् ।