मंगलवार, कार्तिक ११ गते २०८३
काठमाडौं । भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति महानायक राजेश हमालले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् ।
हमालले मन्त्री वाग्ले मन्त्रीस्तरीय जिम्मेवारीको सीमा नाघेर नेपालको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधारलाई कमजोर पार्ने गरी बोल्नुभएको टिप्पणी गरेका छन् ।
हमालका अनुसार यस्ता अभिव्यक्तिले नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्व र राष्ट्रिय स्वाभिमान कमजोर पार्ने जोखिम हुन्छ ।
उनले नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको मित्रतामा गहिरो रूपमा जोडिएको भए पनि, कूटनीतिक अभिव्यक्तिमा सन्तुलन र मर्यादा आवश्यक हुने बताएका छन् ।
वाग्लेले समिटमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेरिन्थ्यो, तर त्यो युग सकिएको बताएका थिए। त्यसको सन्दर्भमा हमालले राष्ट्रवादलाई छिमेकीविरुद्ध उछालिने नारामा सीमित नगरी, राष्ट्रिय हित र सार्वभौमिकताको मूल मान्यतामा राख्नुपर्ने धारणा राखेका छन् ।
हमालले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा महत्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील भएकाले, सार्वजनिक अभिव्यक्तिमा कूटनीतिक जिम्मेवारी र सन्तुलन आवश्यक हुने उल्लेख गरेका छन् ।
हमालको पारिवारिक पृष्ठभूमि कूटनीतिक सेवासँग जोडिएको छ। उनका बुवा चुडाबहादुर हमाल परराष्ट्र मन्त्रालय मार्फत भारत, तत्कालीन सोभियत संघ र थाइल्यान्डमा कूटनीतिक नियोगमा कार्यरत भएका थिए।