२०८३, श्रावण १६ गते

शनिवार, श्रावण १६ गते २०८३

२ अर्वको लगानीमा जनकपुरधाममा पहिलो पाँचतारे होटल 'मिथिला हस्पिटालिटी' खुल्दै, पर्यटन क्षेत्रमा ठुलो फड्को

२ अर्वको लगानीमा जनकपुरधाममा पहिलो पाँचतारे होटल 'मिथिला हस्पिटालिटी' खुल्दै, पर्यटन क्षेत्रमा ठुलो फड्को

आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • जनकपुरधाम । चितवनमा 'रोयल टुलिप रिसोर्ट' सफलतापूर्वक सञ्चालन गरेर हस्पिटालिटी क्षेत्रमा बलियो पहिचान बनाएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष रामेश्वर शाहले अब जनकपुरधाममा आफ्नो नयाँ लगानी विस्तार गर्ने भएका छन् ।

    शाहको नेतृत्वमा जनकपुरधाममै पहिलो पटक पाँचतारे होटल निर्माणको महत्वाकांक्षी परियोजना अघि बढाइएको हो, जसले मधेश प्रदेशको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ । चितवनको रिसोर्ट सञ्चालनमा आएको मात्र आठ महिनाभित्रै शाहले यो दोस्रो ठूलो परियोजना सार्वजनिक गरेका हुन्। यसले उनको व्यावसायिक दूरदर्शिता र पर्यटन क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई प्रस्ट पार्छ ।

    धार्मिक तथा सांस्कृतिक रूपमा विश्वभर चर्चित जनकपुरधाममा हालसम्म अन्तर्राष्ट्रिय स्तरको स्तरीय आवास सुविधाको अभाव रहँदै आएको थियो । यो परियोजनाले उक्त अभावलाई पूर्ति गर्ने विश्वास गरिएको छ । कुल २ अर्वको लगानीमा खल्न लागेको 'मिथिला हस्पिटालिटी' करिब २ लाख वर्गफिट जमिन (१ लाख २० हजार वर्गफिट निर्मित क्षेत्रफल) मा खुल्न लागेको हो ।

    ८ वटा विलासी सुइट (Suite) सहित कुल १२४ वटा कोठा र ३७२ बेडको क्षमतासहित आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुनेगरी २०८६ साल वैशाखदेखि सञ्चालनमा ल्याइने यस पॅाचतारे होटलमा रामेश्वर शाहको नेतृत्वमा पूर्व बैंकर ज्ञानेन्द्र ढुंगाना, व्यवसायी काजी लामा, सुदीप चौधरी र उदयकान्त झा मुख्य लगानीकर्ता रहेका छन् ।

    'मिथिला हस्पिटालिटी' अन्तर्गत बन्न लागेको यस होटललाई एउटा पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ । यहाँ पाहुनाहरूले उच्चस्तरीय रेस्टुरेन्ट, लाइभ किचन, क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको बार र रूफटप पूल बार, आधुनिक सभा तथा बैंक्वेट हल, व्यापार केन्द्र (Business Centre), बहुउद्देश्यीय पौडी पोखरी, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट, एम्फीथिएटर, बालबालिकाका लागि छुट्टै खेल क्षेत्र, र ईभी (EV) चार्जिङ स्टेशनको सुविधा पाउनेछन् ।

    यस परियोजनाले जनकपुरधामको पर्यटन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने अपेक्षा गरिएको छ । होटल सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा करिब १५० जनाले रोजगारी पाउनेछन् भने अप्रत्यक्ष रूपमा स्थानीय कृषि, यातायात र व्यापार व्यवसायले ठूलो टेवा पाउनेछ ।

    यो होटल विशेषगरी जानकी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटक, विवाह पञ्चमी तथा अन्य महोत्सवका विशिष्ट अतिथि र व्यापारिक सिलसिलामा जनकपुर आउने उच्चपदस्थ प्रतिनिधिहरूलाई लक्षित गरी निर्माण गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित खबर
    ताजा अपडेट