शनिवार, श्रावण १६ गते २०८३
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रमअन्तर्गत मन्त्री खनाल भारत जान लागेका हुन् ।
मन्त्रालयले यस भ्रमणले दुई देशबीचको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. एस. जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटमा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
दुवै देशबीचको सहयोग, साझेदारी र आपसी समझदारीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको उक्त भ्रमणका सबै कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको मन्त्रालयले जनाएको छ।