शनिवार, श्रावण १६ गते २०८३
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकको संख्या अझै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १०५ चालक ट्राफिक कारबाहीमा परेका छन् भने त्यसबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीको सक्रिय निगरानीका बीच मापदण्ड उल्लङ्घन गर्ने चालकहरू दैनिक रूपमा कारबाहीमा परिरहे पनि नियम पालना गर्ने संस्कार भने अझै कमजोर देखिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९३ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३३ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १३९ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।
ट्राफिक प्रहरीले लेन अनुशासन उल्लङ्घन गर्ने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडक पेटीमै सवारी पार्किङ गर्ने ८७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ७९ जनामाथि पनि कारबाही गरेको जनाएको छ। यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १६४ जना चालकसमेत कारबाहीको दायरामा परेका छन्।
उपत्यकामा सवारी चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।